लाइसेन्सका लागि लाइन बस्ने दिन सकिए, अब अनलाइनमै फारम भर्ने सुविधा

लाइसेन्सका लागि लाइन बस्ने दिन सकिए, अब अनलाइनमै फारम भर्ने सुविधा

यातायात व्यवस्था विभागले सोमबारदेखि अनलाइनमै फारम भर्न सकिने सुविधा सुरु गर्दैछ । सुरुवातमा यो सेवा काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ । विभागका अनुसार फारम त देशभरीबाटै भर्न सकिनेछ । तर, अनलाइन फारम भनेकाहरुको लिखित परीक्षादेखि ट्रायल सबै काठमाडौंमै हुनेछ ।

विभागले अनलाइन लाइसेन्स फारम र सवारी रजिष्ट्रेशन सिस्टमलाई तयार पारेको धेरै भएको थियो । तर, सेवा सुरु गरेको थिएन । जसका कारण लाइसेन्सका लागि फारम भर्न घन्टौं लाइनमा बस्नु परेको थियो ।

अनलाइन फारमको व्यवस्थापछि यातायात व्यवस्था विभागमा घन्टौं लाइन बस्नु पर्ने बाध्यता लगभग हट्नेछ ।

पछिल्ला दिनमा विभागको कार्यालय एकान्तकुनामा लाइसेन्स फारम बुझाउन एकै दिन ५ हजारसम लाइनमा बस्थे । तर, विभागले काठमाडौंबाट अहिले दिनमा ८ सयसम्म लाइसेन्स फारम बुझ्ने गरेको थियो । अब फारम भर्नेहरुको भिड त लाग्ने छैन नै, यसले अन्य सेवाग्राहीलाई पनि होलो हुनेछ ।

यातायात ब्यवस्था मन्त्रालयले यो सिस्टमका लागि आवश्यक सर्भर खरिद गर्न ६७ लाख रुपैयाँ उपलब्ध गराएको छ । टेण्डरमार्फत प्रक्रियामा जाँदा ढिलाइ हुने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेकखले सर्भर खरिदको प्रस्ताव मन्त्रिपरिषदमार्फत नै पास गराएका हुन् ।

अहिले विभागका प्राविधिक अधिकारीले यो सिस्टमको लागि सर्भर जडान र सफ्टवेयर ‘इन्स्टलेशन’को काम गरिरहेका छन् । लक्ष्यअनुसार काम भए सोमबर स्टिमको औपचारिक उद्घाटन हुने विभागका एक उच्च अधिकारीले बताए ।

अनलाइन फारम भर्ने व्यवस्थाले बिचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना पनि धेरै हदसम्म हट्नेछ ।

कसरी भर्ने फारम ?

विभागको यातायात व्यवस्था विभागको अफिसियल वेबसाइटमा यो सेवाका लिंक उपलब्ध छ ।


होम पेजमै ‘अनलाइन सवारी चालक अनुमतिपत्र’ भन्ने लिंक मेनु छ ।

अागामी सोमबारदेखि यो लिंक क्लीक गरेर फरम भर्न सकिनेछ ।

यो सफ्वेयरलाई सञ्चालनमा ल्याउन अहिले प्राविधिकरु खटिएका छन् । आइतबारसम्म यो लिंक ‘अन्डर कन्सट्रक्सन’ कै अवस्थमा रहनेछ ।

सोमबारदेखि लाइसेन्सका लागि दिइने आवेदन फारम यसै मेनुभित्र हुनेछ ।

त्यसमा क्लीक गरेर फारम भर्न सकिनेछ ।

फरममा आवदेनकर्ताले ब्यक्तिगत विवरण भर्नुपर्छ । आफ्ना अफिसियल डकुमेन्टसँग मिल्ने गरी फारम भरेर अनलाइनमा दर्ता गर्नुपर्छ ।


सिस्टमले नै दिन तोक्ने

यसरी अनलाइन फारम भरेपछि सिस्टमले नै दर्ता गर्नेछ । र, विभागको कार्यालयमा कुन दिन उपस्थित हुने भनेर सूचना दिनेछ । सिस्टमले भनेको दिन आफ्ना नागरिकता र अन्य कागजातसहित विभागमा गएर पेश गर्नुपर्छ ।

त्यसपछि लाइसेन्सका लागि आवश्यक फोटो खिच्नुपर्छ र आफ्नो औंठाछापसहितको बायोमेट्रिक दिनुपर्छ । आवश्यक शुल्क पनि विभागमै तिनुपर्छ ।