गणितमा फेल भएकी सीमा भन्छिन, ‘सपना चकनाचुर भएको छैन, मौकामा पास गर्छु’

काठमाडौं । राम्रो अंक ल्याएर एलएलसी पास गर्ने सपना मनभरी साँचेर सिमा बस्नेतले ट्युसन पढ्ने निधो गरिन् । विद्यालयको पढाइको अलवा विहानको समयमा बसन्तपुर नजिकै रहेको ट्युसन सेन्टरमा सीमा नियमित पढ्न जान थालिन् । ट्युसन सेन्टरमा नयाँ साथी चिनजान भयो संगीता पुलामी मगर । संगीतासँगको यारीको सम्बन्ध बढ्दै थियो । तर, त्यो सम्बन्ध परिपक्व हुन नपाउँदै उनीहरु दुवैको जीन्दगीमा एउटा कालो दिन आयो । २०७१ साल फागुन १० गते आइतबार ट्युसन सेन्टरमा बसिरहेका सिमा र संगीता गणितको अभ्यास गर्दै थिए । एक्कासी मुहार छोपेर आएका रामेछापका जीवन विकले उनीहरुतिर एसिडको बोतल फ्याँकेर भागे ।

आफन्तको सहयोगमा सीमा र संगीता राजधानीको वीर अस्पताल पुगे । पछि संगीता केएमसी रिफर भइन सीमाको भने वीरमै उपचार जारी थियो । सीमालाई अस्पताल पुगेपछि मात्रै थाहा भयो उनीमाथि एसिड आक्रमण भएको रहेछ । सीमाको अनुहारमा कहिल्यै नमेटिने गरी एसिडको दाग बस्यो । एसएलसीमा राम्रो अंक ल्याएर पास हुने आशा मनभरी साँचेर बिहानै ट्युसन सेन्टर पुगेका ती छात्राको दैनिकी त्यस दिनदेखि बदलियो । कक्षामा हुनुपर्ने बेला उनीहरु अस्पतालको बेडमा रहे । एसिड प्रहार गर्ने जिवन विकलाई प्रहरीले केही समयपछि सार्वजनिक गर्यो ।

त्यतिकैमा एलएलसी आयो । सीमाले वीर अस्पतालको बेडबाटै एसएलसी दिइन भने संगीताले काठमाडौं मेडिकल कलेज सिनामंगलबाट । अस्पतालको शैयाबाट परीक्षा दिएको ८० औं दिनपछि आएको नतिजामा सीमा बस्नेत फेल भइन् । एसिड प्रहारको पीडा भुल्न उनले सकेसम्म मेहनत गरिन् । दुखिरहेको घाउको पर्वाह नगरी उनले सकेसम्म राम्रो लेखिन् । तर, अनिवार्य गणितमा ८ नम्बर नपुग्दा उत्तिर्ण हुन सकिनन् । कान्तिश्वरी राज्यलक्ष्मी माविमा अध्ययनरत सिमा सो विद्यालयमा सात कक्षामा भर्ना भएकी हुन् । रौतहट जिल्ला घर भएकी सीमा कक्षा ६ सम्म गाउँकै एक स्कुलमा अध्ययनरत थिइन् । ‘आफ्नै कमीकमजोरीको कारणले पनि म परीक्षामा फेल भएँ होला’ उनले भनिन्, ‘ तर पनि म कोसिस गर्छु ।’ गणितमा कम्तिमा चालिस नम्बर होप गरेकी सिमाले २४ नम्बर मात्र प्राप्त गरिन् । ‘पत्याउनै गाह्रो भइरहेको छ, एकचोटी कपी रिचेक गर्छु’ उनले भनिन्, ‘एसएलसीको परीक्षा दिएपछि धेरै कुराहरु सोचेकी थिइँ । तर, मेरो सबै सोचाई चक्नाचुर भैसकेका छैनन्, अझैं कोसिस गर्छु ।’

Source: Ratopati