उद्धारमा खटिएका सुरक्षाकर्मीको तलब काटियो

काठमाडौं- प्रधानमन्त्री दैविकप्रकोप उद्धार कोषका लागि सुरक्षा संगठनले विपद्को बेला खोजी उद्धार र राहतमा दिनरात खटिएका संगठनका सदस्यको तलब काट्न थालेका छन्। सशस्त्र र नेपाल प्रहरीले कार्यालय सहायकको समेत २ दिनको तलब काटेर कोषमा दाखिला गरेका छन्। नेपाली सेनाले सहयोग रकम घोषणा गरेको छैन।

सशस्त्र प्रहरी बलले ४ दिन अगाडि आफ्ना ३५ हजार सदस्यको तलब काटेर ६ करोड ३४ लाख २५ हजार रुपैयाँ दिएको थियो। बुधबार नेपाल प्रहरीले पनि सशस्त्रकै शैलीमा संगठन सदस्यको तलब काटेर १० करोड १ सय ११ रुपैयाँको राहत कोषमा दिने घोषणा गरेको छ।

दुबै संगठनले सबै सदस्यको समानरुपमा तलब भने काटेको छैन। दुबैले एसएसपीदेखी माथिल्लोतहका अधिकारीको १५ दिनको तलब काटेका छन्। इन्सपेक्टरदेखी एसपीसम्मको तहका अधिकारीको १० दिनको तलब सई र असईको ५ दिनको, हवल्दार र जवानको ३ दिनको र कार्यालय सहायको २ दिनको तलब काटेर राहत कोषमा रकम जम्मा गरेको हो।

Source: Nagariknews