पुल्चोकदेखि ग्वार्कोसम्मको सडक एकतर्फी

पुल्चोकदेखि ग्वार्कोसम्मको सडक एकतर्फी

‘यस्तो ठाउँमा आगो लाग्यो भने दमकल पुर्‍याउन कतिबेर लाग्ला?’ उनले मनमनै गुने। त्यसपछि उनले ललितपुर उपमहानगरपालिका अगाडिदेखि ग्वार्कोसम्मको सडक नाप्न थाले। अचम्म महापालनिरको सडक पूरै ४२ फिट थियो। तर, त्यहीबाटो सःगोल चोकमा पुग्दा यो बाटो ८ फिटमात्र पाइयो।

ठूलो सडकबाट गाडी पस्ने, त्यसमा पनि दोहोरो आवागमन भएपछि त्यो बाटोमा कहिल्यै सवारी सुचारु हुन सक्ने स्थिति थिएन। अब पालो थियो, पाटनवासीलाई यो समस्याको समाधानबारे सहमत गराउनू।

उनले शनिबार उद्योग बाणिज्य महासंघको हलमा स्थानीय बासिन्दालाई छलफलका लागि बोलाए। ‘उनले आफू १५ मिनेट जाममा परेको दृष्टान्त दिँदै सोधे– ‘कसैलाई हार्ट अट्याक भयो भने यस्तो जाममा परेपछि बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सकिएला?’

यसको जवाफ कसैसँग थिएन। उनले तीन विकल्प प्रस्तुत गरे : एक, बाटो फराकिलो पार्ने, दुई सडकलाई एकतर्फी गराउने, तीन अहिलेकै अवस्थामा छाडिदिने। विश्व सम्पदा क्षेत्र भएकोले पाटन कृष्ण मन्दिर क्षेत्रमा बाटो फराकिलो पार्न सक्ने अवस्था छैन।

‘स्थानीय बासिन्दा एकतर्फी बाटो बनाउन सहमत भएकोले आजैदेखि महापालदेखि ट्यागलसम्म बिहान ८ देखि राति ८ बजेसम्म एकतर्फी गरिएको छ,’ हाछेथुले सेतोपाटीलाई जानकारी दिए। अबदेखि उपनगरपालिकातिरबाट मात्र चार पाङ्ग्रेका लागि एकतर्फी गरिएको छ। मोटरसाइकललाई भने यो नियम लागु भएको छैन।

यस क्षेत्रमा ९० प्रतिशत मोटरसाइकल र १० प्रतिशत मात्र चार पाङ्ग्रे संचालन हुन्छन्। यहाँ प्रति मिनेट २५ देखि ३० मोटरसाइकल, ८–१० चार पाङ्ग्रे र ८०–१०० जना पैदल यात्रुको आवागमन हुने गरेको तथ्यांक आधारमा ट्राफिक प्रहरीले सुधार थालेको थियो।

पाटन क्षेत्रमा रथयात्रा भइरहने र पैदल यात्रु पनि धेरै हिड्ने गर्छन्। तर, यहाँका अधिकांश सडकमा पेटी छैनन्। यस्तो सडकमा बालबालिकाहरूलाई हिड्न एकदमै गाह्रो हुने गरेको विश्लेषणका आधारमा एकतर्फी गरिएको हाछेथुले जानकारी दिए।

दुई महिनाअघि यस क्षेत्रमा आएपछि उनले गाडी रोक्ने ठाउँ व्यवस्थित गर्नुका साथै जथाभावी पार्किङ हटाउने काम गरेका छन्। ‘स्थानीय बासिन्दाले धेरै ठूलो सहयोग गरेका छन्,’ उत्साहित हाछेथुले भने– ‘कुनै एउटा सुधार गर्नासाथ टेलिफोन गरेर धन्यवाद दिने गरेका छन्। यसले हामीलाई काम गर्न अरू प्रेरणा मिलेको छ।’

Source: Setopati