सुमार्गीको १० अर्ब फुकुवा गरे प्रचण्ड वार्तामा बस्ने ?

सुमार्गीको १० अर्ब फुकुवा गरे प्रचण्ड वार्तामा बस्ने ?

केपी ओलीले एक कार्यक्रममा भनेका थिए– १० अर्ब दिए एमाओवादीको मोर्चाले आन्दोलन त्याग्ने छ । संविधान बन्ने छ ।’ यस कुराको विस्तारै पुष्टि हुँदै गएको छ । विवादास्पद व्यापारी अजयराज पराजुली सुमार्गीको ५ महिना अगाडि नेपाल इन्भेष्टमेन्ट बैंक र नविल बैंकबाट आएको साँढे तीन अर्ब रुपैयाँ र आउन बाँकी रहेको साँढे ६ अर्ब रुपैयाँ सहज रुपमा फुकुवा गरे एमाओवादी सहित ३० दल मोर्चाले तत्कालै वार्तामा बस्ने संकेत दिएको कुरा एक एमाओवादी नेताले नाम नलेख्ने शर्तमा हामीसँग बताएका थिए ।
करिब ५ महिना अगाडि नक्कली कम्पनी खडा गरी विदेशबाट ऋणमार्फत झिकाएको करिब साँढे तीन अर्व पैसा नविल र नेपाल इन्भेष्टमेन्ट बैंकबाट आएपनि राष्ट्र बैंकले रोक्का गरिदिएपछि प्रचण्डले कृष्णबहादुर महरामार्फत सरकारसँग रकम फुकुवा गर्न आग्रह गरेपनि सो कार्य सफल नभएपछि एमाओवादीले सरकारसँग वार्ता नगर्ने निष्कर्षमा पुगेको प्रचण्डनिकट एक नेताले बताए ।
गत शुक्रबार बिहान पुष्पकमल दाहाल ‘प्रचण्ड’ का व्यापारिक साझेदार मानिने सुमार्गी लाजिम्पाटस्थित प्रचण्ड निवासमा देखा परे । आफ्नी जेठी सासुको नाममा आलिसान महल किनिदिएर प्रचण्डलाई भित्र्याएका सुमार्गी प्रचण्ड निवास नपुगेको धेरै भएको थियो ।

शुक्रबार भने उनले एक घण्टा प्रचण्ड निवासमा नै विताए । समाचार स्रोत भन्छ, त्यसबेला उनले विभिन्न बैंकमा रोकिएको करिब नौं अर्ब रुपैयाँ निकाल्ने प्रयासमा भइरहेको प्रगतिबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए भने गत शनिबार बाग्लुङमा हुने एक पूजा समारोहमा सहभागी भइदिन निम्ता पनि दिएका थिए । पटक–पटक सुमार्गीसँग नाम जोडिएका कारण विवादमा पर्दै आएका प्रचण्डले यसपटक भने सुमार्गीको पूजामा सहभागी हुने निम्ता मान्न अस्वीकार गर्दै आफू आन्दोलनको तयारीमा रहेका कारण जान नभ्याउने जबाफ दिए । बैंकमा रोकिएको पैसा निस्कने वातावरण मिलाउन आफूले सक्दो प्रयास गरिरहेको तर सफलता नमिलेको पनि प्रचण्डले जानकारी गराएको स्रोतको दाबी छ । त्यसपछि सुमार्गी निराश मुद्रामा प्रचण्ड निवासबाट बाहिरिए । पछिल्ला केही दिनदेखि सुमार्गीको पैसा प्रकरण चर्चामा छ । व्यवस्थापिका–संसद्का समितिदेखि सडकसम्म उनको पैसा कै चर्चा हुन थालेको छ ।

झन्डै पाँच महिनादेखि नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा थन्किएको साढे तीन अर्ब रुपैयाँ र आउन बाँकी ६ अर्बभन्दा बढी रुपैयाँले सुमार्गी चिन्तामा छन् । पैसा रोकिँदा सुमार्गीलाई भन्दा ज्यादा चिन्ता प्रचण्डलाई भइरहेको लाजिम्पाट निवास स्रोतको दाबी छ । ‘पछिल्ला केही महिनादेखि प्रचण्ड कमरेड बैंकमा रोकिएको पैसा कसरी निकाल्ने भन्नेमा लागिरहनुभएको छ,’ सुमार्गीका प्रयास सबै व्यवसायबारे जानकार प्रचण्ड निकट एक माओवादी नेताले भने, ‘तर जति प्रयास गर्दा पनि पैसा निकाल्न सकिएको छैन ।’ यसैले अहिलेको सत्ता पक्ष र विपक्षबीच वार्ता नभएको दावी समेत गरे ।

समाचार स्रोतका अनुसार स्वतन्त्र वित्तीय कारोबार गर्ने स्थान ब्रिटिस भर्जिन आइल्यान्डबाट करिब ५ महिनाअघि आएको उक्त रकम निकाल्न राष्ट्र बैंकले अनुमति नदिएपछि सुमार्गी आफैंले प्रयास गरेका थिए । यसअघि पनि त्यसैगरी भर्जिन आइल्यान्डबाट आएको ठूलो परिमाणको रकम सुमार्गीले निकालिसकेका थिए । त्यसैले उनले सोही च्यानल प्रयोग गरेर यसपटक पनि पैसा निकाल्न खोजे । तर उनको प्रयासमा राष्ट्र बैंक बाधक बन्यो । स्रोत भन्छ, ‘पैसा निकाल्न नसकेपछि सुमार्गी पुगे प्रचण्ड गुहार्न । प्रचण्डले सुरुमा त विगतमा जस्तै सहजै काम बन्ने ठानेर चिन्ता नलिन सुमार्गीलाई ढाडस दिए ।’ तर प्रचण्डले पनि यस पटकको गाँठो फुकाउन सकेनन् । राष्ट्र बैंकका अधिकारीहरूलाई प्रभावमा पारेर सहजै पैसा फुत्काउन नसकेपछि प्रचण्डले आफू निकट नेता कृष्णबहादुर महरा मार्फत् सरकारका मन्त्रीसम्म कुरा पुर्‍याए । यसकार्यमा प्रचण्डले कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य अमरेशकुमार सिंह लगायतलाई प्रयोग गर्न खोजे पनि सफल हुन सकेनन् । सहजै पैसा आउने नदेखेपछि प्रचण्डको प्रस्ताव प्रधानमन्त्री सुशील कोइरालासमक्ष नै पुगेको स्रोतको भनाइ छ । तर प्रधानमन्त्रीबाट पनि नियमअनुसार रोक्का भएको पैसा निकाल्न सहयोग गर्न नसक्ने बताएपछि प्रचण्ड र कोइरालाबीच पानी बाराबारको अवस्था रहेको देखिन्छ ।

स्रोतका अनुसार यो सबै घटनाक्रम गत माघ पहिलो साताका हुन् । सुमार्गीको अर्बाैं पैसा निकाल्न सत्तापक्षले सहयोग नगरेपछि भड्किएका प्रचण्डले एकाएक शीर्ष बैठकका सहमति उल्टाउन थाले । माघको पहिलो साता शीर्ष नेताहरूबीच संविधानका अन्तरवस्तुमा गम्भीर छलफल चलिरहेका थिए । ती छलफल सहमतिउन्मुख पनि थिए । सत्तापक्षको सहयोगमा रोकिएको पैसा निक्लनेमा ढुक्क देखिएका प्रचण्डले शासकीय स्वरुपमा लचकता अपनाउन तयार रहेको बताए भने संघीयताको संख्यामा पनि सहमति जुटाउन सकिने धारणा राखे । माघ ४ गते राति यसरी सहमति तर्फ अघि बढेको राजनीतिक पाँच गते एकाएक भाँडियो । अघिल्ला दिनसम्म भएका सहमतिबाट प्रचण्ड पुरै पछाडि फर्किएपछि सत्तासिन दलले संविधान निर्माणको प्रक्रिया अघि बढाउन खोजे, जहाँ प्रचण्डका सभासद् तोडफोडमै उत्रिए । त्यति मात्र होइन, प्रचण्डले संविधानसभाका बैठक र संसद्का समितिका बैठक समेत बहिस्कार गर्ने घोषणा गरेर सडक आन्दोलनको धम्की दिन थाले । यहीबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट ‘एमाओवादीलाई दश अर्ब रुपैयाँ दिने हो भने संविधानसभाको बैठक अवरुद्ध नगर्ने र संविधान बनाउने सघाउने’ प्रतिक्रिया आयो । सुरुमा विपक्षी मोर्चाले त्यसलाई एमाओवादी विरुद्धको कटु बचनका रुपमा अथ्र्याइयो । तर अहिले प्रचण्ड पैसाका निम्ति कतिसम्म गिर्न सक्छन् भन्ने मोर्चाकै नेताले थाहा पाउँदै गएपछि ओलीको बोली भविष्यवाणी सरह नै रहेछ भन्न थालिएको देखिन्छ ।

प्रचण्ड निकट एक नेता सुमार्गीको पैसाका लागि प्रचण्डको दौडधुपबारे जानकारी पाएकै कारण ओलीले दश अर्ब दिए अवरोध हट्ने टिप्पणी गरेको हुन सक्ने बताउँछन् । ‘सुमार्गीको पैसा नरोकिएको हुन्थ्यो भने सायद संविधान निर्माणको प्रक्रिया एमाओवादीको समेत सहभागितामा अघि बढिसकेको हुन्थ्यो,’ हालै यो प्रकरणको जानकारी पाएका मधेसी मोर्चाका एक नेताले भने, ‘हामीले त प्रचण्डले मधेसको एजेन्डा समाएका छन् भन्ने ठानेको त सुमार्गीको धन पो समाएका रहेछन् ।’ स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्रीसमक्ष अहिले पनि पैसा निकालिदिने हो भने वार्ताको लागि वातावरण बन्ने खबर पठाइरहेका छन् । ‘सायद पैसाको कुरा नमिलेर होला, वार्ताको ढोका अझै नखुलेको प्रतिक्रिया प्रचण्डबाट आउने गरेको,’ ती नेताले भने । प्रधानमन्त्रीले दुई–दुई पटकसम्म वार्ताको लागि लिखित आह्वान गर्दा पनि प्रचण्ड नेतृत्वको मोर्चा वार्तामा गएको छैन । प्रचण्डकै आग्रहअनुसार सरकारले संविधानसभाको बैठक स्थगित गरिदिएको छ । तै पनि वार्ताको लागि वातावरण नबनेको भन्दै मोर्चा आन्दोलनको तयारीमा जुटेको छ ।

यसरी गरे प्रचण्डको पैसा सुमार्गीले लगानी
मध्यपश्चिमाञ्चलमा नयाँ कम्पनी खोलेर टेलिफोन सेवा विस्तार गर्ने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले बोलपत्र आव्हान गर्‍यो । बोलपत्र आव्हान गरेको छ महिनापछि ११ फागुन २०६४ मा त्यसको लाइसेन्स अजयराज सुमार्गी मुख्य प्रवद्र्धक भएको कम्पनी नेपाल स्याटेलाइटले प्राप्त गर्‍यो । कम्पनीलाई मध्यपश्चिमका २७३ गाविसमा सेवा विस्तार गनुपर्ने शर्त थियो । ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्ने शर्त भन्दै नेपाल स्याटेलाइटलाई जम्मा २५ लाख रुपैयाँमा यो लाइसेन्स दिइएको थियो ।

नेपाल स्याटेलाइटले जिएसएम तथा सिडिएमए दुवै प्रविधिमा सेवा विस्तारको अनुमति पाएको थियो । गाउँमा सेवा पुर्‍याइसकेपछि देशभर क्षेत्र विस्तार हुने लचिलो प्रावधान पनि राखियो । नेपाल स्याटेलाइटले अनुमति पाएको डेढ वर्षपछि ‘हेलो नेपाल’ ब्राण्डमा ८ असोज २०६६ मा सेवा सञ्चालनमा ल्यायो । काठमाडौंबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दाङमा रहेका माओवादी अध्यक्ष प्रचण्डसँग हेलो नेपालमार्फत कुराकानी गरे, सेवा सुचारु भयो । त्यसपछि सुरु भयो अजय सुमार्गीको उदय, उनले यही कम्पनीबाट छाप्न थाले नोट, आउन थाल्यो साइप्रस र ब्रिटिस भर्जिन आइल्याण्डबाट अर्बाैं रुपैयाँ । कसरी ? स्पाइस नेपाल (हालको एनसेल) सुरु हुँदा प्रमुख कार्यकारी अधिकृत रहेका सुमार्गीसँग त्यसको केही वर्षभित्रै आफ्नै ब्राण्ड ‘हेलो नेपाल’ थियो । हेलो नेपाललाई सञ्चालन गर्दथ्यो, नेपाल स्याटेलाइट कम्पनी । नेपाल स्याटेलाइटका मालिक थिए सुमार्गीको अर्काे कम्पनी मुक्तिश्री प्रालि, साइप्रसमा दर्ता भएको एयरवेल सर्भिसेस प्रालि, सुमार्गीकी श्रीमती सम्झना अर्याल, पाकिस्तान मोबाइल कम्युनिकेशन र सेवा टेलिकम, बंगलादेश । साइप्रसमा आफ्नै कम्पनी एयरवेल सर्भिसेस प्रालि खोलेर सुमार्गीले त्यसमार्फत नेपाल स्याटेलाइटको ५० प्रतिशत सेयर लिएका थिए । यतिबेला मुक्तिश्रीसँग ४० प्रतिशत सेयर थियो, पाँच प्रतिशत सेयर श्रीमती सम्झनासँग थियो भने पाकिस्तान मोबाइलसँग तीन र सेवा बंगलादेशसँग नेपाल स्याटेलाइटको दुई प्रतिशत सेयर थियो ।

नेपाल स्याटेलाइट सञ्चालनमा ल्याए पनि यो आक्रमक बजार रणनीतिमा थिएन्, बजार विस्तार पनि सुस्त थियो । यसको अर्थ थियो, सुमार्गीले एनसेलमा जसरी आफ्नो ‘माइनोरोटी’ सेयरलाई अर्बाैं रुपैयाँमा ‘कन्भर्ट’ गरेका थिए, त्यसैगरी झण्डै सित्तैमा आफ्नो स्वामित्वमा आएको नेपाल स्याटेलाइटको सेयर पनि बिक्री गर्ने । सन् २०११ मा उनले त्यो प्रक्रिया सुरु गरे । उनले त्यसका लागि स्वभाविक क्रेताका रुपमा एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेरा देखे । टेलियासोनेरा पनि यति बेला आक्रमक रुपमा बजार विस्तारमा थियो । सन् २००८ मा वेष्ट इन्डिजमा रहेको कम्पनी रेनोल्ड होल्डिङसको मेजोरोटी सेयर लिएर स्पाइस नेपालमार्फत टेलियासोनेरा नेपालमा छिरेको थियो, ठीक त्यतिवेला कम्पनीले एनसेलमा सेयर स्वामित्व र लगानी दुवै बढाउँदै गएको पनि थियो । एनसेल मात्रै होइन् टेलियासोनेराले कम्बोडिया, उज्वेकिस्तान, माल्डोभा, ताजकस्तान, जर्जिया लगायतका देशमा टेलिकम कम्पनीको सेयर किन्ने, बेच्ने गतिविधि तिव्र रुपमा बढाइरहेको थियो । यसको नेतृत्व गरिरहेका थिए, टेलियासोनेराका तत्कालीन सिईओ लार्स नैवर्ग र युरोएशियाको नेतृत्व गरिरहेका तेरो किभिसारी ।

लार्स र किभिसारी–उज्वेकिस्तान नेपाल लगायतको सेयर खरिद बिक्रीमा गडबढी गरेको पाइएपछि कम्पनीबाट हटाइएकासँग सुमार्गीको स्पाइस नेपालको सेयर खरिद बिक्री हुँदादेखि नै चिनजान थियो । उनले लार्स र किभिलाई नेपालमा एनसेलसँगै नेपाल स्याटेलाइट चलाउन सुझाव दिए । यही प्रक्रियामा सन् २०११ मा ३५०४८/०६१/०६२ काठमाडौंमा दर्ता रहेको नेपाल स्याटेलाइट टेलिकम कम्पनीको ५० हजार कित्ता सेयर टेलियासोनेराको स्वामित्वमा गयो । यो सेयर नेपाल स्याटेलाइटको ५० प्रतिशत सेयर स्वामित्व भएको कम्पनी एयरवेल सर्भिसमार्फत लिइएको थियो । त्यतिवेला टेलियासोनेराको भातृ कम्पनी टेलियासोनेरा नर्वे नेपाल होल्डिङ एज नर्वेले एयरवेलको ५१ प्रतिशत स्वामित्व लिएको थियो । यो स्वामित्व खरिद गर्न टेलियासोनेराले सन् २०११ मा १७ करोड ४० लाख स्विडिस क्रोनर (अहिले दुई अर्ब चार करोड रुपैयाँ) खर्च गरेको थियो ।

त्यसको अर्काे वर्ष सन् २०१२ मा नेपाल स्याटेलाइटको सेयरमा पुर्नसंरचना गरियो । यतिवेला नेपाल स्याटेलाइटको ५० प्रतिशत स्वामित्व भएको एयरवेल सर्भिससँग ७५ प्रतिशत स्वामित्व पुगेको थियो । मुक्तिश्रीको सेयर स्वामित्व ४० प्रतिशतबाट घटेर १५ प्रतिशतमा झरेको थियो । २६ अप्रिल २०१२ मा टेलियासोनेराले नेपाल स्याटेलाइटको ७५ प्रतिशत स्वामित्व भएको कम्पनी एयरवेलको बाँकी ४९ प्रतिशत सेयर पनि किन्यो । यो कारोवार झण्डै ३० करोड स्विडिस क्रोन र (३ अर्ब ५० करोड रुपैयाँ) मा भएको थियो । सेयर खरिद विक्री गर्दा नेपाल स्याटेलाइटको मूल्यांकन झण्डै १८ अर्ब रुपैयाँ गरिएको थियो । एयरवेल किन्दा भुक्तानी भने ब्रिटिस भर्जिन आइल्याण्डमा रहेको कम्पनी जोधर इन्भेष्टमेण्टलाई गरिएको थियो । जोधर एयरवेलको सेयर बेचेवापत पाएको रकम भुक्तानी लिन सुमार्गीले ब्रिटिस भर्जिन आइल्याण्डमा खोलेको कम्पनी थियो । सुमार्गीसँग भएको नेपाल स्याटेलाइटको ७५ प्रतिशत सेयर स्वामित्व टेलियासोनेराले किनेपछि त्यसको जानकारी दिन टेलियासोनेराका सिईओ लार्स सन् २०१२ को जुलाई तेस्रो साता काठमाडौंमा आए । उनले पत्रकार सम्मेलन गरेर नेपाल स्याटेलाइटलाई रिब्राण्डिङ गर्ने घोषणा समेत गरे ।

एनसेल सञ्चालन गरिरहेको टेलियासोनेराले नेपाल स्याटेलाइटको सेयर खरिद गरेपछि सुरु भयो, क्रसहोल्डिङको विवाद । यो विवाद लामो समय चल्यो, विवादका कारण टेलियासोनेरले नेपाल स्याटेलाइटको पूर्वाधार विकास लगानी पनि गर्न सकेन । बरु यतिबेलासम्म नेपाल स्याटेलाइटमा काम गरिरहेका कर्मचारीलाई आन्दोलनका बाबजुत पनि हटाइसकिएको थियो । नेपाल स्याटेलाइटको अध्यक्षका रुपमा रहेकी सुमार्गी पत्नी सम्झना अर्याल पनि अध्यक्षबाट हटिसकेकी थिइन् । उता लार्सले पनि जागिर छाड्नु प¥यो । तेरो किभिसारी युरोएशियाबाट हेडक्र्वाटर तानिए । टेलियासोनेराको नयाँ बोर्डले लार्स र किभिसारीले गरेका खरिद र एक्विजीशनका विषयमा नर्टन रोज फुलब्राइटबाट अडिट गराउने निर्णय गरे । क्रस होल्डिङको विषय लम्बिरहेको थियो । नेपालबाट एनसेलको उपल्लो तहमा काम गर्ने कर्मचारी पनि नेपाल स्याटेलाइट खरिद उचित नहुने सुझाव दिइरहेका थिए । अन्तत सन् २०१३ को सेप्टेम्वर ११ मा टेलियासोनेराले नियामक निकायको अस्थिर निर्णय, कानूनी वातावरण देखाउँदै नेपाल स्याटेलाइटको सेयर स्वामित्व भएको कम्पनी एयरवेल जोधर इन्भेष्टमेन्टलाई नै विक्री गर्ने निर्णय गर्याे । यो कारोवारका लागि टेलियासोनेराले नर्टन रोज फुलब्राइट, केएण्डएल गेट्स तथा युबिएसलाई प्रिन्सिपल एडभाइजर नियुक्त गरेको थियो ।

टेलियासोनेराले नेपाल स्याटेलाइटको सेयर ‘सेल व्याक’ गर्दा ४० करोड स्विडिस क्रोनर (झण्डै पाँच अर्ब रुपैयाँ) घाटा लागेको जानकारी पनि ११ सेप्टेम्वर २०१३ मा दिएको छ । टेलियासोनेरालाई घाटा लाग्नुको अर्थ हो, सुमार्गीलाई नाफा । यसको अर्थ २५ लाख रुपैयाँमा किनेको लाइसेन्सबाट सुमार्गीले मुक्तिश्री, एयरवेल, टेलियासोनेरा, जोधर हुँदै पाँच अर्ब रुपैयाँ खुद मुनाफा गरे । नेपाल आयो पैसा सुमार्गीले बेलाबेलामा साइप्रसी कम्पनी एयरवेल तथा ब्रिटिस भर्जिन आइल्याण्डको कम्पनी जोधरबाट नेपालमा पैसा ल्याउँदै आएका थिए । यी दुई कम्पनीबाट गत वर्ष सुमार्गीको नेपाल इन्भेष्टमेन्ट बैंक तथा नबिल बैंकमा रहेको खातामा साढे तीन अर्ब रुपैयाँ आइपुग्यो । ठूलो मात्रामा रकम आएपछि बैंकले त्यसका विषयमा नेपाल राष्ट्र बैंकलाई जानकारी दिए । त्यसपछि केन्द्रिय बैंकले रकमका बारेमा सोधपुछ गर्न थाल्यो । जुन रकम अहिले पनि दुई बैंकमा थन्किएर बसेको छ ।

(लेखक आर्थिक बजार तथा राजतीलक साप्ताहिकका प्रधान सम्पादक हुन् । सुमार्गीको ‘कालोधन’ बारे समाचार लेखेकै कारण उनले केही महिना अघि धम्की समेत खेपेका थिए ।)

Source: DainikNepal