निजी क्षेत्रले बन्द अवज्ञा गर्ने

निजी क्षेत्रले बन्द अवज्ञा गर्ने

एकीकृत माओवादीलगायत विभिन्न राजनीतिक दलले आह्वान गरेको बन्द–हड्तलालाई निजी क्षेत्रका करिब १ सय वस्तुगत संगठनले अवज्ञा गर्ने भएका छन् । मुलुकमा काम गरिखाने वातावरण बनाउन र बन्दलाई सदाका लागि बन्द गरेर मुलुकलाई शान्ति÷समृद्धितर्फ अगाडि बढाउन उनीहरूले सबै दललाई आग्रह पनि गरेका छन् ।
अवज्ञा घोषणा गरेको चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्यमी–व्यवसायीलगायत आमनागरिकको चाहनाविपरीत विभिन्न कारण देखाउँदै दलहरूले फेरि मुलुकलाई बन्द–हड्तालमा धकेल्न लागेकाले कडा अवज्ञा गर्न बाध्य भएको बताए । “हामीेले बन्द खोजेका होइनौं,” उनले भने, “बन्दले निकास निस्किँदैन, हामीलाई काम गर्ने वातावरण चाहिन्छ । बन्द होइन, शान्ति देऊ, बन्दलाई सदाका लागि बन्द गर्नुपर्छ,” उनले भने ।
वस्तुगत संघहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा ‘काम गर्ने वातावरण निर्माण गरी आर्थिक समृद्धितर्फ लाग्ने राजनीतिक दलहरूको प्रतिबद्धता कार्यान्वयन होस्’ भन्ने माग गरिएको छ । यसअघि संविधानसभा निर्वाचनमा प्रायः सबैजसो दलले अब बन्द–हड्तालका कार्यक्रम नगर्ने प्रतिबद्धता जाहेर गरेको विज्ञप्तिमा स्मरण गराइएको छ ।
यसअघि नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघले पनि बन्दलाई सदाका लागि बन्द गर्न अपिल गरेका थिए । महासंघ अध्यक्ष प्रदीपजंग पाण्डेले दलहरूले मुलुकलाई पुनः कहालीलाग्दो अवस्थामा धकेल्न खोजेको बताए । “विगतमा भएका शृंखलाबद्ध बन्द–हड्ताल र राजनीतिक अस्थिरताको असरबाट आजसम्म पनि मुलुकको अर्थतन्त्र स्वस्थ हुन सकेको छैन,” उनले भने, “कतिपय उद्योग बन्द भएका छन् । मुलुकले दैनिक १२ देखि १४ घण्टा लोडसेडिङको मार खेपिरहेको छ र अहिले पनि लगानीको पूर्ण वातावरण बन्न सकेको छैन ।”
बन्दले आमनागरिकको दैनिकीलाई कष्टकर बनाउने भन्दै निजी क्षेत्रले वार्ता र संवादको माध्यमद्वारा समस्या समाधान गर्न सामूहिक अनुरोध गरेको छ । बन्दको संस्कृति मान्य नभएको बताउँदै परिसंघले विज्ञप्तिमा मुलुकको आर्थिक विकासलाई गति प्रदान गर्ने संविधान समयमै जारीे गर्न पनि अपिल गरेको छ । “संविधानसभाका साथै अन्य शान्तिपूर्ण राजनीतिक कार्यक्रम र रचनात्मक विकल्प हुँदाहुँदै नागरिकको दैनिकी तथा मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पार्ने गरी जबर्जस्ती यातायात, उद्योगधन्दा तथा कलकारखाना बन्द गराउने कार्यप्रति परिसंघ भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
पूर्वमा पनि अवज्ञा
सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी–व्यवसायीले पनि सामूहिक रूपमा बन्दको अवज्ञा गर्ने भएका छन् । आमहड्ताल र त्यसपछि हुने बन्दको अवज्ञा गर्न उनीहरू छलफलमा जुटेका छन् । मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले राजनीतिक स्वार्थका निम्ति गरिने बन्द–हड्तालविरुद्ध आफूहरू कडा अवज्ञामा उत्रिने बताए । शारडा आन्दोलनकारी दल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का तर्फबाट सभासदसमेत हुन् । अवज्ञाको विषयमा प्रशासन र राजनीतिक दलसँग पनि छलफल भइरहेको उनले बताए ।
बन्द अवज्ञा घोषणा गर्ने मुख्य संगठन
नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, भन्सार एजेन्ट महासंघ, निर्माण व्यवसायी महासंघ, ग्रिल व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल निर्माण सामग्री व्यापार महासंघ, सुनचाँदी व्यवसायी महासंघ, ग्यास बिक्री–वितरण व्यवसायी महासंघ, विद्युतीय व्यवसायी महासंघ, कपडा तथा सिलाइ व्यवसायी संघ, रत्न आभूषण संघ, एलपी ग्यास उद्योग संघ, प्लास्टिक उत्पादक संघ, निर्यात परिषद्, केन्द्रीय गलैंचा उद्योग संघ, ट्राभल्स एन्ड टुर एसोसिएसन, ट्रेकिङ एजेन्ट्स एसोसिएसन, होटल एसोसिएसन, अटोमोबाइल डिलर एसोसियसन, हिमालय सीमापार वाणिज्य संघ आदि

Source: Karbardaily