नयाँ घर निर्माणमा लगाइएको प्रतिवन्ध हट्यो

सरकारले भूकम्पपछि नयाँ घर निर्माणमा लगाएको प्रतिवन्ध हटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णयका आधारमा भवन निर्माणसम्वन्धी ८ बुँदे सर्कुलर जारी गर्दै निर्माण प्रक्रियामा रहेका नयाँ नक्सा पास स्वीकृति प्रक्रिया अघि पनि बढाउने निर्णय गरेको छ ।

सरकारले भूकम्प गएपछि असार सम्मका लागि २ तले भन्दा अग्ला घर बनाउन प्रतिबन्ध लगाएको थियो । सरकारको नयाँ निर्देशन सँगै नक्सा पास भएका तथा निर्माण सुरु नभएका घरहरुको निर्माणमा लागेको प्रतिवन्ध हटेको छ भने निर्माणाधिन घरमा लगाइएको दुई तलाभन्दा बढी बनाउन नपाइने प्रतिबनध पनि हटेको छ ।

यस्तै भवन निर्माणका लागि प्रक्रियामा अगाडि बढेका भवनहरुको नक्सा तथा डिजाइनहरु राष्ट्रिय भवन संहिता तथा स्वीकृति मापदण्ड अनुसार भए कानून अनुसार नक्सा स्वीकृत गर्ने निर्णय भएको छ । सरकारले गरेको निर्णय महानगरपालिका, उपमहानगरपालिका तथा सबै नगरपालिकामा लागु हुने जनाइएको छ ।

Source: Karobardaily