‘मेरो छोरा जापानको स्कूलमा झन्डै मरेन’

‘मेरो छोरा जापानको स्कूलमा झन्डै मरेन’

‘जापानको एभरेष्ट इन्टरनेशनल स्कुलको कक्षा एल के जीमा अध्ययनरत मेरो छोरा युलेन रोकाले भोग्नु परेको एउटा कहालीलाग्दो घटना म यहाँ सबै अभिभावकसमक्ष राख्‍न चाहान्छु। सबैको आँ‌खा अगाडी भएको दुर्घटनामा मेरो छोरोले भनेको सुन्दा सायद सबैको आँ‌खा रसाउँ‌छ।घटना गएको जनवरी १४ तारिकको हो। साथीले धकेलेर लडाएपछि टाउकोको देब्रे पाटो भुईमा ठोकियो अनि धेरै बेर भुईमै लडिबुढी गरेछ। अर्को साथीले यो फ़ुटबल हो भन्दै लात्तीले हानेको रहेछ एकछिन सम्म केही बोल्नै नसकेपछि आँ‌खाबाट आसु झार्दै त्यहि लडिबुढी गरेछ।

टिचरले लुगा खोलेर बाहिरी चोट हेरेको तर के भयो भनेर नसोध्नुले पनि दुर्घटना त्यहाँ भएकोले देखेखो प्रस्ट हुन्छ। यस्तो दुर्घटनाले स्कुलको आँसु रसायन, अलिकति पनि दया माया रहेनछ कसैको पनि। मैले पटकपटक मसँग ईमान्दार भएर घटनाको सत्य कुरा भनेर छोराको कम भन्दा कम क्षतिको लागि जिमेवार भइदिनोस भन्दा कसैले वास्ता नगरेको अवस्था छ। प्रिन्सिपल सर आफैले केही निर्णय गर्न नसक्ने बनाउँ‌छन्।

संचालक समितिका प्रतिनिधिसँग दुईपल्ट मीटिंग बस्दा सबै प्रमोटरले निर्णय गर्नुपर्छ भन्ने आसयका भनाइले धेरै अन्योल भएको छ। वास्तवमा एभरेष्ट ईन्टरनेशनल स्कुल कस्को हो? यस्ता गम्भीर बिषयमा कस्ले निर्णय गर्न सक्छ? यस स्कुलको एउटा साथीले हुत्याएर लडाएको र अर्को साथीले लात्ती हानेर भएको दुर्घटनामा दाईने ब्रेनमा समस्या भई देब्रे पाटो नचल्ने भएको अवस्थामा नेशनल सेन्टर फोर चाईल्ड केयर एन्ड डेभलपमेन्ट सेतागया कु मा उपचारार्थ यहि मार्च १६ तारिक दुई महिना भन्दा बढीमा अपांग भएको अवस्थामा डिस्चार्ज भएको जानकारी गराउँ‌दै यसबाट मर्माहत हुनुहुने परिवारका सम्पूर्ण सदस्यहरुलगायत आफन्तहरुलाई धैर्य गर्ने शक्ति प्रदान होस् भनेर कामना गर्न चाहन्छु।

स्कूलले घटनाको यथार्थलाई स्वीकार गरेर केही सहयोग गर्नै आश्वासन देखाउँदै संयुक्त बिज्ञप्ती पनि निकालेको थियो तर पनि शिक्षक शिक्षिकाहरुको विभिन्न कुराहरुले घटना लुकाउन खोजेको स्पष्ट हुन्छ। मैले छलफलबाट समाधान खोज्न आग्रह गरे पनि स्कुलले गैरजिम्मेवारी कुरा गर्दै आएको थियो। एक हप्ता सम्म चुप रहेको स्कुल, मैले एउटा मागपत्र राखे पछि मात्र छलफलमा बसेको थियो।घटनाको दिन मलाई फोन गर्दा एक जना शिक्षकले तपाईको छोरोलाई साथीले धकेलेर लडाएको छ, अली सारो छ, हामी अस्पताल लग्दैछौ, तपाई तुरुन्त आउनोस् भनेका थिए तर अस्पतालमा अर्कै कुरा भनेर भर्ना गरेको रहेछ।

मेरो श्रीमती जनवरी १४ देखि आफ्नो जागीर छोडेर २४ घण्टा छोराको हेरचाहमा रहेको र मैले पनि आफ्नो कामबाट लामो समय बिदा लिनुपरेकोले निकै समस्या भोग्नु परेको छ। स्कुलले कोहि सहयोग गरे जस्तो गरे पनि घटनाको पुर्ण ज़िम्मेवारी लिएर आफ्नो आधारभूत कर्तव्य पनि निभाउन नसक्दा छोरोलाई चाईने दैनिक सामानहरु आफैले किन्नु पर्दा थप आर्थिक भार समेत खेप्नु परेको छ। छोराको शारीरिक, मानसिक, शैक्षिक, मनोवैज्ञानिक क्षति र परिवारको आर्थिक क्षतिपूर्ति कसले दिने?

दुर्घटनाको दुई महीना बितिसक्दा पनि स्कुलले हामी यसो गर्छौ र यति सहयोग गर्छौ भनेर भनेको छैन। अहिल्य सम्म मेरो समस्या सोध्ने र म के गर्दैछु बुझ्ने काम मात्र भईरहेको छ। समस्या सबैको अगाडी नै छ नी मेरो छोरो अपांग भएको छ, बिदेशमा हामीले नेपाली संचालकहरु भएको स्कुलबाट भोगेको पिडा लेख्ने म संग कुनै शब्द छैन। सायद जापानमा स्थापित ब्यक्तीहरुले खोलेको स्कुल भएकोले होला यस्तो दुर्घटनामा पनि कुनै वास्ता नगरेको।

बच्चाको स्वास्थ्य अवस्था केही सुधार भएता पनि अझै गम्भीर र केही भन्न नसकिने अबस्थामा रहेको साथै अझै लामो समय अस्पताल धाउनु पर्नै र त्यसपछि पनि पुरा ठीक हुन्छ की अपांग हुने हो भन्न नसकिने अबस्था छ। प्रिन्सिपलले अस्पताल भर्ना गर्दा धकेलेर लडाएको कुरा भनेको छु भनेर मलाई भनेता पनि मैले पछि मात्र थाहा पाए की घटनालाई ढाटेर अस्पताल भर्ना गरिएको रहेछ। मैले त्यति भासा जान्दैन भनेर सुरुमा डाक्टर सग स्कुलले नै कुरा गरेको थियो। भित्री कुराको सब जाँच गरेपछी केही कारण पत्ता लगाउन नसकेको रिपोर्ट डाक्टरले दिएपछि मैले डाक्टर संग साथीले धकेलेर लडाएको कुरा राख्दा मलाई बाहिर राखेर स्कुल प्रिन्सिपल र एक शिक्षक सग मात्रै डाक्टरले कुरा गरेको र म भित्र जादा प्रिन्सिपलले लडाएको कुरा अस्वीकार गरेपछी स्कुलले षड्यन्त्र गरी मेरो छोरोलाई धेरै क्षति पुर्याउन खोजेको प्रष्ट हुन्छ। यद्यपि प्रिन्सिपलले हामीसग भनेका छन् ” हामीलाई दुर्घटना थाहा थियो, बाबुको अबस्था गम्भीर भएकोले हामी सुरुमा आत्तिएर स्कुलको लागी लुकाउन खोजेको हो।” तर अहिले देखेको छैन, भनेको हैन, थाहा छैन भन्दै आफ्नो दायित्वबाट पन्छिन खोजिरहेका छन्।

जापानमा बस्ने प्रतिष्ठित नेपाली ब्यक्तीहरुलाई फोन गरेर घटना जानकारी गराई केही सल्लाह लिन खोज्दा आफै फाउन्डर भएको र कुरा मिलाईदिने आस्वासन मात्र पाएँ। त्यस पछि ती ब्यक्तीहरुको दोहोर्याएर फोन आएन। एन आर एन जापानका अध्यक्षलाई जानकारी गराउदा आफु स्कुलको फाउन्डर रहेको तर स्कुलको कार्यमा सरोकार नरहेको भन्दै जे गर्नुहुन्छ स्कुललाई गर्नुहोस भन्दै पन्छिनु भयो। दुई जना अभिभाबक प्रतिनिधि जसमध्ये एक जना लगानीकर्ता भएको स्विकार्नु भयो अस्पतालमा आएर मैले भनेका समस्या सुनेर हातमा हात मिलाउदै समाधानको लागी पहल गर्छौ भन्दै जानु भयो त्यसपछि केही खबर आएन। पछि आफैले फोन गरेको थिय। पत्रकार महासंग जापानका अध्यक्षसंग पनि पत्रकार सम्मेलन गर्न सहयोग माग्दा स्कुलको फाउन्डर हुँ भन्दै स्कुलको पक्षबाट प्रस्तुत भएको पाए। धेरै थोरै ब्यक्तीले मात्र थोरै चासो लिएर सहयोग गर्नै प्रतिबद्धता गर्नुभयो। उहाँहरुलाई धेरै धेरै धन्यवाद। यदि यो दुर्घटना घरमै भएको भए शायद यतिबेला सम्म जापानबासी नेपाली समुदाए एक भएर सबैपक्षमा सहयोग पाईसकेको हुने थिएँ। के मैले न्याय नपाउने हो त?

सुरुमा मैले देख्दा माया मारेको अबस्था थियो त्यस्तो अबस्थामा अस्पताल भर्ना गरिएता पनि प्रिन्सिपल ले भने अनुसार (५७ जना लगनीकर्ता रहेका छन्) दुई जना लगानीकर्ता, प्रिन्सिपल र दुई शिक्षिका भन्दा अरु कोही भेट्न नआएको र फ़ोन गरेर बच्चाको हालखबर पनि नसोधेको साथै हिउ पर्दा सूचना छाप्ने स्कुलको फेसबुकमा स्वास्थ्यलाभको कामना पनि नछाप्नु जस्ता कृयाकलापले मानवीयता र संवेदनशीलता पनि नभएका मान्छेहरुले स्कुल संचालन गरेको प्रष्ट हुन्छ। घटना भइसकेपछि सबै जुटेर राम्रो अस्पताल खोजेर पिडीतलाई कम भन्दा कम क्षति होस् भन्ने सोचले कार्य गर्नु पर्ने थियो। तर स्कुल संचालकहरुको कति दरिद्र सोच रहेछ, जो पहिला साथी थिय ति पनि स्कुलको लगानीकर्ता भएकै हिसाबले चुपचाप छन्। जापान बस्ने बौद्धिक व्यक्तीहरुले संचालन गरेको स्कुल हो नहुनु पर्ने घटना भईसकेपछि सजीलै समाधान हुन्छ भन्ने सोचेको थिए तर मेरो छोरो भन्दा स्कुल बचाउन लागेको पाए।

जापान सरकारको न्यूनतम आबस्यक्ता पुरा नगरी खोलीएको उक्त स्कुलले जापान सरकारको नियम अनुसार सहयोग उपलब्ध गराउने कुरामा बिस्वस्त हुन नसकेको अबस्था छ। मैले दुर्घटना लगत्तै बिमाको प्रकृया अगाडी बढाउन अनुरोध गरे पनि स्कुलले हस्पिटलको रिपोर्ट पर्खेर लगभग १ महिना पछि विमाको पेपर दिएकोले त्यसको आधिकारीकता बिचाराधिन अबस्थामा रहेको छ। मैले मेरो छोराको न्यायको निम्ती कानुनी प्रकृया अगाडी बडाएमा स्कुलले बिभिन्न चुनौतिको सामना गर्नुपर्ने प्रष्ट छ। स्कुल संचालक समितिले हालै नेपाल सरकारबाट पाएको अनुमतिको खोक्रो प्रचार गरेको छ।

नेपाल सरकारको शिक्षा नियमावलीले विदेशमा स्कूल खोल्न अनुमति सम्बन्धमा केही नबोलेको अबस्थामा नेपाल सरकारले निर्णय गरेर अनुमति दिएको कुरालाई म चुनौती दिन चाहन्छु। एक वर्षमा एक कक्षा मात्र अनुमति पाउने र त्यो अनुमति दिन पनि स्कुलको बिभिन्न पक्षको अबलोकन गरी प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ। तर कुनै पनि पक्रिया पुरा नगरी दश कक्षासम्मको पाठ्यक्रम अध्यापन अनुमति दिनु भनेको शिक्षा नियम बिपरित हो। पहिलो वर्षमै ३ कक्षा संचालन गरेको उक्त स्कुललाई मन्त्रिपरिषदको बैठकले दिएको भनिएको त्यस्तो अनुमतिले स्कुलले आधिकारिकता पाउने कुरामा तपाई कति बिस्वस्त हुनुहुन्छ? फेरी पनि मेरो मनसाय स्कुलले दु:ख पाओस, आधिकारिकता नपाओस भन्ने होईन मात्र मेरो छोराले न्याय पाउनु पर्छ भन्ने हो।

स्कुलको शुल्क उठाउने पद्धति भने राम्रो रहेछ। स्कुलमा भएको घटनाले बच्चाको भबिष्यनै अन्योल भएको अबस्थामा यो हाम्रो सिस्टम हो भनेर प्रिन्सिपल सरले अघिल्लो महिनाको रिसिप्ट र जनवरीको आधा महिनाको शुल्कको स्लीप बुझाउनु भयो। आधा महिनाको मात्र किन? कि १४ बाट हस्पिटल भर्ना भएकोले होला कि मेरो छोरोलाई स्कुलले निकालेको हो? यदि स्कुल गएको दिनको मात्र शुल्क तिर्ने हो भने शनिबार, आइतबार र बीदाको दिनको शुल्क नतिर्दा हुने भयो अब। यो जस्तै सबैकुराको राम्रो सिस्टम भए कति राम्रो हुन्थ्यो।

मेरो छोराले पटक पटक धकेल्ने र लात्ती हान्ने साथिको नाम प्रिन्सिपल र ब्यबस्थापनका अध्यक्ष संग भन्दा बच्चाको गल्तिको लागी पछि सरी भन्न लगाउने भन्ने सम्म कुरा आएपछि स्कुलले जानी जानी घटना लुकाएको प्रष्ट हुन्छ।शिक्षिकाहरुले पछिल्लो पटक घटना नदेखेको रिपोर्ट तयार गरेको तर अभिभाबक र स्कुलको संयुक्त विज्ञप्तिमा दुर्घटना स्विकार गरेर प्रकाशन गर्नुले थप रहस्यमय भएको छ। के स्कुलले मेरो छोरोलाई मार्ने षड्यन्त्र नै गरेको थियो त? त्यत्रो मरणासन्न अबस्था हुनेगरी भएको घटना देखेनौ भन्ने शिक्षक शिक्षिकाहरुबाट बिध्यार्थीहरुको सुरक्षाको के आश गर्नु र? पिडीतलाई न्याय दिन नसक्ने स्कुलबाट हाम्रा छोराछोरीको कस्तो भबिष्यको आशा गर्ने? बच्चाको स्वास्थ्य कस्तो छ भनेर एक फोन पनि गर्न नसक्ने ति ५७ जना संचालक बाट हाम्रा बच्चाको सुरक्षाको के आसा गर्नु र?

स्कुलबाट न्याय पाउने आसा झिनो बन्दै गएको बेला न्यायको निम्ती कानुनी लगाएत अन्य प्रकृयामा जानुपर्ने अबस्था आउने देखिएको छ। यदि त्यस्तो अबस्था आएमा उक्त स्कुलका सम्पूर्ण अभिभावक, जापानबासी नेपाली समुदाय र अन्य संघ संस्थाका प्रतिनिधि ज्युहरुलाई न्यायको निम्ती बोलिदिनुहुन हार्दिक अनुरोध गर्दछु। त्यसबाट सम्बन्धित अभिभाबकहरु, अन्य अभिभावक र बिध्यार्थीहरुमा कुनै असुविधा पर्न गएमा त्यस प्रति क्षमा माग्दै त्यसको जिम्मेवारी स्कुलले लिनुपर्ने कुरा समेत जानकारी गराउन चाहन्छु।

अन्तमा मेरो छोरालाई बचाउने डाक्टर, नर्सहरु र सम्पूर्ण टिम मेरो लागि साक्षात भगवान् भएकोले सबैलाई प्रणाम गर्न चाहन्छु साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा बाबुको स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण नेपाली, जापानिज र अन्य साथिभाई, आफन्तहरुमा धन्यवाद दिन चाहन्छु। मेरो छोराको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।’

भुवन रोका, जापान
८१८०३४४३७३०३
roka_bhuwan@yahoo.com

Source: Annapurnapost