जनताको साथ खोज्दै आमरण अनशन

जनताको साथ खोज्दै आमरण अनशन

राजनीतिक आडमा चिकित्सा शिक्षामा मौलाउँदै गएको माफियातन्त्र अन्त्य र सर्वसुलभ स्तरीय स्वास्थ्य सेवाका लागि जनताको साथ खोज्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. गोविन्द केसी आइतबार फेरि आमरण अनशनमा बसेका छन्। यो उनको पाँचौं अनशन हो।

डा. केसी विगतमा सरकारले आफूसँग गरेका कुनै पनि सम्झौता कार्यान्वयन भएको, नेपाली चिकित्सा शिक्षामा माफियाको चलखेल कायमै रहेको र यसले स्वास्थ्य सेवामा झन् समस्या थपिएको भन्दै अनशनमा बसेका हुन्।

उनले अपराह्न पत्रकार सम्मेलन गरी आमरण अनशन बस्ने घोषणा गरेका थिए। त्यसपछि आईओएमका पदाधिकारीसँग भएको वार्तामा कुरा नमिलेपछि साँझबाट उनी अनशन बसेका हुन्।

चिकित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालय निर्माण हुनुअघि नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, अनियमित तरिकाले मेडिकल कलेजको सम्बन्ध दिने पदाधिकारीलाई कारबाही गर्नुपर्ने, चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्ने, देवदेह र विराट् मेडिकल कलेजलाई सरकारले दिएको सम्बन्धन फिर्ता गर्नुपर्ने, मेडिकल शिक्षामा माफियाको चलखेल रोकिनुपर्नेलगायत १० बुँदे माग उनले राखेका छन्।

सरकार, अदालत कसैले पनि मागलाई गम्भीरतापूर्वक लिएनन्। मैले राखेका माग जायज छन्। माग पूरा नभएस अनशन तोड्दिनँ। अब मलाई जनताले मात्र साथ दिनेछन्, जनता सडकमा उत्रिए भने एकदिनमै सबै समस्या समाधान हुनेछ।

‘सरकार, अदालत कसैले पनि मागलाई गम्भीरतापूर्वक लिएनन्’, केसीले भने, ‘मैले राखेका सम्पूर्ण माग जायज छन्। कुनै पूरा गर्ने कुनै पूरा नगर्ने भन्ने हुँदैन सबै माग पूरा नभएस अनशन तोड्दिनँ। अब मलाई जनताले मात्र साथ दिनेछन्, जनता सडकमा उत्रिए भने एकदिनमै सबै समस्या समाधान हुनेछ।’

केसीले राजनीतिक शक्तिका आडमा मेकिडल कलेज सञ्चालनमा ल्याएर जनता लुट्ने नेता र मेडिकल माफियालाई सरकारले कारबाही गर्न नसक्नु लाचारपन भएको बताए। ‘सरकारले माग सुनेन भने मुलुकको स्वास्थ्य शिक्षा र सेवा आगामी ३० वर्षसम्म पनि यस्तै लथालिंग रहनेछ’, उनले भने, ‘मेडिकल माफियाको कुरामा फसेर सरकारले समेत गलत काम गरेको छ, जुन सच्चिनुपर्छ।’

गलत काम गर्नेलाई कारबाही गर्ने निकाय मौन बस्नुले थप शंका उत्पन्न भएको उनले बताए। ‘प्रत्येक नेपालीलले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ, त्यो उनीहरूको मौलिक अधिकार हो’, उनले भने, ‘८० प्रतिशत मानिस बस्ने ग्रामीण क्षेत्रमा मेडिकल कलेज खुल्नुपर्छ, सहरमा मात्र यस्ता कलेज थुपारेर व्यापार गर्न पाइँदैन।’

उनले सहरी क्षेत्रमा खुलेका मेडिकल कलेजले गरिब जनताबाट करोडौं रुपैयाँ अनावश्यक असुल्ने गरेको आरोप लगाए।

केसीले आफ्नो अनशनले शिक्षणलगायत कुनै पनि अस्पतालको स्वास्थ्य सेवा प्रभावित नहुने दाबी गरे। केसीले त्यसो भनिरहँदा रामेछापकी सीता नेपाली उनलाई खोज्दै पत्रकारसम्मेलनमा ‘मेरो बुवालाई तपाईंले कहिले जाँच गर्नुहुन्छ’ भन्दै प्रश्न गर्न पुगेकी थिइन्।

केसीले उनका बुवालाई आइतबार जाँचका लागि बोलाएका थिए। तर केसी पत्रकार सम्मेलनमा व्यस्त भएपछि सीता त्यहीं पुगेकी थिइन्। केसीले यसअघि पटकपटक अनशन गर्दा मुलुकभरको स्वास्थ्य सेवा प्रभावित भएको थियो।

केसीले नेपालमा संख्यात्मक रूपमा मेडिकल कलेज र स्वास्थ्य संस्था बढे पनि स्तरीय सेवा अभावमा बिरामीले सास्ती खेप्नुपरेको बताएका थिए।

Source: Annapurnapost