बबरमहलमा काष्ठमण्डप, सहिदगेटमा धरहरा


















वैशाख १२ को महाभूकम्पमा परि ध्वस्त भएका केही महत्वपूर्ण सांस्कृतिक सम्पदामा धरहरा र काष्ठमण्डप प्रमुख थिए । महाभूकम्पको प्रतीक चिन्हका रुपमा भत्किएको धरहरा र बसन्तपुर रहेका छन् ।

यी सम्पदाको अहिले नै जस्ताको तस्तै पुनर्निर्माण संभव नहोला । तर, कलाकारहरुले भने यसको आफ्नै तरिकाले पुनर्निर्माण थालेका छन् । सहिदगेटमा धरहराको प्रतिरुप निर्माण गरिएको थियो । ढलेको धरहराको सम्झनास्वरुप बनाइएको यो ‘मिनी धरहरा’ल पनि अहिले यात्रुको ध्यान तानिरहेको छ ।

सहिद गेटमा सिमेन्टको धरहरा बनिरहेका बेला यता बबरमहलमा भने रंगको काष्ठमण्डप बनिरहेको छ । ललितकला हातेमालो अभियानले ‘लेट्स स्टार्ट’ (अब सुरु गरौं) अन्तरगत कलाकारहरुले बबरमहलको आर्ट काउन्सिल छेउको भित्तोमा काष्ठमण्डपको चित्र बनाइरहेका छन् । कलाकार अर्जुन राईका अनुसार दैनिक १५ देखि २० जना कलाकारले विगत १३ दिनदेखि बनाइरहेको यो चित्रको सोमबार मूख्य सचिव लिलामणि पौडेलले उद्घाटन गर्दैछन् ।

शान्तकुमार राईको संयोजकत्वमा सुरु भएको अभियान अन्तरगत सुरु गरिएको काष्ठमण्डपको चित्र बनाउने काम भने कलाकार भीषण राजभण्डारीको संयोजकत्वमा भइरहेको छ ।

तस्बिरहरु : निमेशजंग राई

Source: eKantipur