बुटवलको व्यस्त बजारबाट एक व्यापारीको अपहरणपछि हत्या भएको छ ।

वुटबल, भाद्र १७ – बुटवलको व्यस्त बजारबाट एक व्यापारीको अपहरणपछि हत्या भएको छ ।
बुटवलको राममन्दिर लाइनमा रहेको दिनेश एण्ड सन्स कपडा पसलका संचालक दिनेश श्रेष्ठको अपहरणपछि हत्या भएको हो । आईतबार राति करिब साढे १० बजे बुटवलको बसपार्क पछाडि रहेको होटल डारसी इन्टरनेशनलबाट घर जान निस्किएका उनको बाटोबाटै अपहरण भएको थियो ।
उनको शव आज बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मौवाबारी नहरमा भेटिएको थियो । पेटमा पानी नदेखिएको, घाटी भाँचिएको र टाउकोमा चोट लागेकाले उनको हत्यापछि नहरमा फालिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
व्यापारीहरुले भने श्रेष्ठ परिवारले तत्काल प्रहरीलाई जानकारी गराए पनि प्रहरीले सक्रियता नदेखाउँदा हत्या भएको दाबी गरेको छ ।
उद्योग वाणिज्य संघले आजै उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी हत्यारालाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।