टेरियालार्इ सम्मान गरेको रिसमा राजेशपायलको उपद्रो

सांगितिक कार्यक्रमका लागि आएका गायक राजेशपायल रार्इले आफुलार्इ सम्मान नगरेको भन्दै आइतबार साँझ कार्यक्रमस्थलमा तनाव सिर्जना गरे ।

मलेसियामा रहेको नेपाल आदिवासी जनजाति महासंघले डिआइडी लिटिल मास्टर्सको उपाधि जितेकी नेपाली कलाकार टेरिया मगरलार्इ सम्मान गरेको तर आफुलार्इ नगरेको भन्दै उनले होहल्ला गरेका हुन् ।

आइतबार राती राजधानी क्वलालाम्पुरमा रहेको खुकुरी रेष्टुरेण्टमा जनजाति महासंघले टेरिया मगरलाई सम्मानको लागि आयोजना गरेको कार्यक्रममा गायक राजेशपायल राईले आफु वरिष्ठ रहेको र आफुलाई नै पहिलो सम्मान हुनुपर्ने बताएपछि विवादसंगै झडप भएको त्यहाँ रहेका रुपन्देही रुद्रपुरका टीका श्रीसले जानकारी दिए ।

राजेशले सम्मान खोज्दै होहल्ला गरेर कलाकारको जस्तो ब्यवहार नगरेको सम्मान कार्यक्रमको आयोजक आदिवासी जनजाति महासंघका अध्यक्ष सुन्दर आलेमगरले बताए । उनका अनुसार त्यहाँ टेरियालार्इ मात्र सम्मान गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । सम्मान नपाएपछि रिसाएका राजेशले कार्यक्रम छाडेर गाडीमा गर्इ बसेको र सांस्कृतिक कार्यक्रमको स्थानीय संयोजक तामिल मूलको ब्यक्ति लगाएर धम्क्याएको आलेले बताए ।

त्यसपछि तामिल सवारी चालकहरुले तयारी अवस्थामा राखिएको खाना फालिदिएको र केही व्यक्तिको पासपोर्ट समेत नियन्त्रणमा लिएको श्रीसले बताए । जनजाति महासंघका सदस्यहरुले राजेशपायल कै निर्दैशनमा तामिल सवारी चालकहरुले भिडन्तको अवस्था सिर्जना गरेको आरोप लगाएका छन् । सम्मान कार्यक्रममा टेरियाले आफू कुनै जाति विशेषको मात्र नभएर नेपालको छोरी भएको बताएकी थिइन् ।

कार्यक्रममा टेरियाको रिस गरेका रार्इले आफ्नो फेसबुक पेजमा भने टेरियासँगै बसेको तस्बिर अपलोड गरेका छन् । मलेसियामा मुसलमान समुदायको रामदानको अवसरमा प्राय कम्पनीहरु बिदा रहेकोले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन् ।

Source: Ujyaaloonline