जोर-बिजोर प्रणाली १२ बजेपछि हट्ने

काठमाडौं- उपत्यकामा गुड्ने सवारी साधनमा आज १२ बजेबाट जोर-बिजोर प्रणाली लागू नहुने भएको छ। उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सोमबारबाट लागू भएको जोर–बिजोर प्रणाली सार्क सम्मेलनका लागि आएका सदस्य राष्ट्रप्रमुख, सरकारप्रमुख तथा विशिष्ट व्यक्ति १२ बजेभित्र स्वदेश फर्किसक्ने भएपछि हट्ने भएको हो।
 महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १२ बजेपछि उपत्यकाका सडकमा गुड्ने कुनैपनि सार्वजनिक तथा निजी सवारीलाई जोर–बिजोर प्रणाली लागू हुने छैन।
सम्मेलनका कारण पाँच दिनदेखि सर्वसाधारणले सास्ती बेहोरिरहेकाले सम्मेलन सकिएलगत्तै सवारी आवागमन सहज बनाउन यो प्रणाली हटाउने निर्णय गरिएको महाशाखाले जनाएको छ। सरकारले मंसिर ८ देखि जोर गतेका दिन जोर नम्बरप्लेट र बिजोर दिनमा बिजोर नम्बरका सवारी मात्र चल्न पाउने व्यवस्था गरेको थियो।
सार्क सम्मेलननिम्ति आएका विशिष्ट पाहुना फिर्ता नहुञ्जेल १२ बजेसम्म भने चक्रपथभित्रका सडकमा सवारी आवागमन प्रभावित हुनेछ। सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिमध्ये भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र श्रीलंकाका प्रमुख बिहीबारै फर्केका छन्।
आज बंगलादेशी प्रधानमन्त्री सेख हसिना बिहान साढे १० बजे बंगलादेश विमानको नियमित उडानबाट फर्किएकी छिन्। त्यस्तै आजै १२ बजेभित्र भुटानी प्रधानमन्त्री छिरिङ तोग्बे फर्कने कार्यक्रम छ। उनी विमानस्थल जाने समयमा पनि सोल्टी होटलदेखि एयरपोर्टसम्मको सडक आधा घन्टा अगाडिबाट खाली गराइनेछ।

Source: NagarikNews