जर्मनीलाई विश्वकप जिताउने मारियो कमलरी उत्थानमा

जर्मनीलाई विश्वकप जिताउने मारियो कमलरी उत्थानमा

हालै सम्पन्न विश्वकप फुटबलको फाइनलमा जर्मनीलाई जिताउने खेलाडी मारियो गोएट्ज अहिले संसारभर चर्चित छन्। विश्वकप फाइनलको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेका थिए। यो गोलले उनलाई एकाएक ‘हिरो’ बनायो। यिनै मारियोले नेपालमा पढ्न नपाएका बालबालिकाका लागि गररहेको लगानीबारे धेरैलाई थाहा छैन। आजको अन्नपूर्णमा खबर छ।

मारियोले तीन महिनायता पश्चिम नेपालका मुक्त कमलरी बालबालिकालाई पढ्न सहयोग गरिरहेका छन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमलरीलाई पढाउने र सीप सिकाउने प्लान नेपालको परियोजनामा उनले सघाइरहेका छन्। ‘कमलरी समस्या सुनेपछि उहाँ प्लानमार्फत नेपालमा बालबालिकाका लागिस सहयोग गर्न तयार हुनुभएको हो,’ प्लान नेपालका सञ्चार संयोजक श्रीराम केसीले बताए।

प्लान नेपालले सञ्चालन गर्ने परियोजनालाई धरै जर्मन नागरिकले सहयोग गरिरहेका छन्। जर्मनीमा आयोजित छलफलमा प्लानका अधिकारीले मारियोसहित धेरै सहयोगीसमक्ष कमलरीको समस्या सुनाएका थिए। त्यसैबेला मारियोले सहयोग गर्ने इच्छा देखाएका थिए।

Source: Setopati