आजबाट काठमाण्डौँको भृकुटीमण्डपमा सुरु भएको एमालेको नवौँ महाधिवेशनको उद्घाटन पूर्व एमालेका कार्यकर्ताहरु नै नाराबाजीमा उत्रिएका छन्।

नेकपा एमालेको नवौँ महाधिवेश सुरु हुनु पूर्व व्यवस्थापनको जति चर्चा थियो, अहिले त्यो चर्चा बेकार बनेको छ । आजबाट काठमाण्डौँको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनको उद्घाटन पूर्व एमालेका कार्यकर्ताहरु नै नाराबाजीमा उत्रिएका छन् ।

 महाधिवेशनको उद्‌घाटन सुरु हुनुअघि सहभागी हुन आएका कार्यकर्ताले कार्यक्रमस्थलमा प्रवेश नपाएको आक्रोसमा नाराबाजीका साथै मुख्य स्वागतद्वार तोडफोड गरेका छन्।

 कार्यकर्ताहरुले आफूहरुको प्रवेश रोकमा पुलिसले अवरोध पुर्याएको भन्दै गृहमन्त्री वामदेव गौतम विरुद्ध नारा लगाएका छन् । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्य बहादुर थापाले समेत जान पाउने तर आफ्नै कार्यकर्तालाई प्रवेश निषेध गराएको भन्दै उनीहरु आक्रोशमा आएका हुन् ।

 कार्यक्रमस्थलबाट डिसीनेपाल डटकम संवाददाता दिनेश लुइटेलले बताए अनुसार केही विद्यार्थी नेताहरुलाई पुलिसले गिरफ्तार समेत गरेका छन् ।

आक्रोसित कार्यकर्ताले महाधिवेशनका लागि सजाइएका तुल ब्यानरलाई भृकुटीम‌ण्डप सडकमा ल्याएर आगो लगाइदिएका छन् । त्यस्तै उद्घाटनसत्रको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरु अलमलको अवस्थामा परेका छन्।

Source: DCNEPAL